शेयर बजारमा झण्डै दुई अर्बको कारोबार, हिमालयन डिष्टिलरी र शिवममा लगानीकर्ताको आकर्षण

शेयर बजारमा झण्डै दुई अर्बको कारोबार, हिमालयन डिष्टिलरी र शिवममा लगानीकर्ताको आकर्षण


बैंकिङ्ग समाचार । 

शेयर बजारमा सुधारको क्रम जारी रहँदा आइतबार करिब २० अंकले उकालो लागेको छ भने झण्डै २ अर्ब बराबरको कारोबार भयो। आइतबारको कारोबारमा हिमालयन डिष्टिलरी र शिवम सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

आइतबार समेत गर्दा शेयर बजारमा लगातार चौंथो दिन डेढ अर्ब बढीको शेयर किनबेच भएको हो । गत साताको मंगलबार, बुधबार र बिहीबार शेयर बजारमा लगातार डेढ अर्ब बढीको किनबेच भएको थियो। मंगलबार एक अर्ब ५३ करोड बढीको शेयर किनबेच भएको बजारमा बुधबार एक अर्ब ५० करोड बढीको कारोबार भएको छ भने बिहीबार एक अर्ब ७७ करोड बढीको शेयर किनबेच भएको थियो।

आइतबार नेप्से सूचक १९.३९ अंकले बढेर १३६३.९७ विन्दुमा पुगेकोे छ । १७६ कम्पनीको शेयर किनबेच भएको बजारमा ४१ लाख ५ हजार १३४ कित्ता शेयर १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भयो ।

गत बिहीबारको तुलनामा कारोबार रकम करिब २१ करोड बढी हो । गत बिहीबार १ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।

अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले शेयर बजारका गरेका नीतिगत सुधारका कामले शेयरलगानीकर्तामा उत्साह जाग्दा कारोबार रकममा बढोत्तरी आएको हो। साथै नागारिक लगानीकोषले सर्वासधारणको समेत स्वामित्व हुनेगरी नागरिक स्टक डिलर कम्पनी दर्ता गरेको खबरले पनि बजारलाई थप गतिशिल बनाएको छ। उक्त कम्पनीले शेयरबजारमा झण्डै १५ अर्बसम्म लगानी गर्नसक्ने भएकाले पनि बजारमा सिनर्जी थपिएको लगानीकर्ता तथा विश्लेषकहरु बताउँछन्।

आइतबारको बजारमा कारोबारमा आएका १२ समूहमध्ये ३ वटा बाहेक बाँकी सबै समूहको सूचक बढेको छ । वित्त, अन्य र म्युचुअल फण्ड समूहको सूचक घटेपनि अन्य सबै समूहको सूचक उकालो लागेको छ। सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचक बढेको छ।

यसदिन हिमालयन डिष्टिलरीको सबैभन्दा बढी १८ करोड बढीको शेयर किनबेच भयो ।शिवम सिमेन्टको पनि १३ करोड बराबरको कारोबार भएको छ भने नेपाल लाइफको पनि करिब दश करोडको किनबेच भयो।

यसदिन पाँच कम्पनीको शेयरमूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ। राद्यी विद्यु्त, एनएलजी इन्स्योरेन्स, नादी ग्रुप, नेपाल हाइड्रो र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ। नबिल ब्यालेन्स फण्ड टु को सबैभन्दा धेरै मूल्य घट्दा सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।