स्रोत नखुलेको ८ लाखसहित एक पक्राउ


महोत्तरी – यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा बुधबार दिउँसो प्रहरीले स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए ।

बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाइकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शंका लागि जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको एक हजार दरका नोट आठ सय एक थान र पाँच सय रुपैयाँका नोट नौ थान बरामद गरेको हो ।

पक्राउ परेका साह र उनी सवार मोटरसाइकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ ।