बिहिबारको शेयर कारोबार रकम १ अर्ब ७७ करोड बढी

बिहिबारको शेयर कारोबार रकम १ अर्ब ७७ करोड बढी


बैकिङ समाचार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकले सामान्य करेक्सनको सामना गरेको छ । बिहीवार नेप्से परिसूचक १ दशमलव ३९ अंकले घटेर १ हजार ३४४ दशमलव ५९ विन्दुमा बन्द भएको छ ।

गत तीन कारोबार दिन बढेर बन्द भएको बजारमा लगानीकर्ता नाफा सुरक्षित गर्न आकर्षित हुँदा सामान्य करेक्सनको सामना गरेको हो । 

१ हजार ३४६ दशमलव ४५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो आधा घण्टामा बढेर यस दिनकै उच्च विन्दु १ हजार ३५४ दशमलव ८८ को विन्दुमा रहेको थियो । पहिलो घण्टामा सो विन्दुवाट सामान्य झरेको बजार कारोबारको अन्तिम २० मिनेटमा भने घटेको हो ।

बुधवारको तुलनामा यस दिन नेप्से परिसूचक शून्य दशमलव १० प्रतिशत घटेर बन्द भएको छ । बिहीवार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेर बन्द भएको छ । 

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २ दशमलव ९६ प्रतिशत बढेको छ भने होटल समूहको परिसूचक १ दशमलव ६१ प्रतिशत घटेर बन्द भएको छ । 

यस्तै बढेर बन्द हुनेमा उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ भने वित्त, निर्जीवन बीमा र ‘अन्य’ समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेर बन्द भएको छ ।

बैंकिङ, विकास बैंक, जलविद्युत् र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेको छ ।

बिहीवार १ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

बिहीवार रू.१ अर्ब ७७ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १७ दशमलव ४९ प्रतिशत बढेको हो । 

गत कारोबार दिन बुधवार रू.१ अर्ब ५० करोड ९७ लाख रकम बराबरको शेयर कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंक घटेर २ सय ८४ दशमलव २४ विन्दुमा बन्द भएको छ ।