विराटनगर महानगरसँग बीमा प्राधिकरणको अन्तर्क्रिया

विराटनगर महानगरसँग बीमा प्राधिकरणको अन्तर्क्रिया



काठमाडौं – नेपाल बीमासम्बन्धी जनचेतना विस्तारका लागि विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमासम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमासम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताए । अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरिब तथा न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमामार्फत लक्षित वर्गलाई दीर्घकालीनरूपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताए । अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्दै त्यसबाट नागरिकलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारबाही, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिकासम्बन्धी प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेन्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरूलाई मर्कापरेकोलगायतका धारणा राखेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।