बरहथवा – यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा रु. छ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए ।
उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यस्तै, पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४० रूपैयाँ, चालक अनुमति पत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार तीन सय १५ रूपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए ।
सवारीसाधन करबाट चार करोड ७३ लाख ११ हजार चार सय ३६ रूपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो । कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रूपैयाँ बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो ।
जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए ।
‘हामीले चैत मसान्तमा एकै दिन ७० रुपैयाँ लाखसम्म राजस्व सङ्कलन गरेका थियौँ’, उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमति पत्र परीक्षा (ट्रायल) समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ।’
विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका(३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया