काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । ओलीले आज सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिए । ‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउनुपर्ने आधार छन्,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धिका काममा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्नेमा जोड दिए । तिनीहरुले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्ने बताउँदै भने, ‘हामीहरु नियुक्तिमा को जाने/नजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।’
प्रतिक्रिया