यो सरकार बिचौलियाले बनाएको घटनाक्रमले पुष्टि गरेको छ : वर्षमान

यो सरकार बिचौलियाले बनाएको घटनाक्रमले पुष्टि गरेको छ : वर्षमान


काठमाडौं – पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पूँजीपति वर्गले मिलाइदिएको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव पुनले पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरूले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरूले पुष्टि गर्दै लगेको बताएका हुन् ।

पुनले बिचौलियाहरूले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे । धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनको भनाइ थियो ।

‘धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो । प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो’, उनले भने, ‘हामीले बिचौलियाको हित हुने गरी धितो पत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौँ । भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौँ । यो जनताले बुझेका छन् ।’

देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रूपमा बढेर जाने दाबी पुनले गरे । त्यस्ता, प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरू रहेको पुनले बताए । सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रङ्क लाइन र डेडिकेटेड लाइनको विद्युत् महसुल नतिर्ने व्यवसायीहरूलाई सरकारले संरक्षण गरिरहेबाटै भएको तर्क उनले गरे ।

लाल आयोगले न्यायोचित ढङ्गले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले तिर्नुपर्दैन भनेर हिँड्नुले उनीहरूको असली चरित्र उदाङ्गो भएको आरोप पुनले लगाए ।