पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो


पर्सा – पर्सामा विगत तीन वर्षयता घरेलु  तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ। आर्थिक मन्दी र लगानीमैत्री वातावरण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ। गत आर्थिक वर्षमा ८९७ घरेलु तथा साना उद्योग नयाँ थपिएका छन्। जब कि  आव ०७९/८० मा भने यहाँ एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए। त्यस्तै, आव ०७८/७९ मा एक हजार ४८८ उद्योग दर्ता भएका थिए।

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालू आवमा नयाँ उद्योग दर्ता हुनेको संख्यामा केही कमी आएको बताए।

‘गत आर्थिक वर्षमा बैंकमा तरलता धेरै बढ्यो, तर कुनै पनि उद्योगी/व्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन्। जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो,’ उनले भने, ‘समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन्।’

आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा नयाँ उद्योग दर्ता संख्या १९२ वटाले घटेको देखिन्छ। कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्फ  छुट्टाछुटै १७९ नयाँ उद्योग दर्ता भएका छन्। त्यस्तै, निर्माणतर्फ १०१ नयाँ उद्योग दर्ता भएका छन्।

पर्यटनतर्फ ८०, सेवातर्फ ३५८ वटा नयाँ उद्योग थपिएका छन्। गत आवमा ऊर्जामूलक, सूचना तथा सञ्चार र खनिजतर्फ भने कुनै पनि उद्योग दर्ता भएनन्। गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालू पुँजी भने रु. एक अर्ब पाँच पाँच करोड ९८ लाख  सात हजार ४५४ रहेको छ। गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार ४५५ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ।

कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्फ ५११ वटा नयाँ पसल दर्ता भएका छन्। ०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्फ दर्ता हुने पसलहरू पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्थाअनुसार ती  थपिएका हुन्।