कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह


काठमाडाैं – उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताएका छन् । 

तीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनद्वारा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको उल्लेख गरे । व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घचघच्याउनसमेत उनले आग्रह गरे । 

सो अवसरमा उपप्रधानमन्त्री सिंहले गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गरेका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्सलगायतका संस्था तथा व्यक्तिलाई सम्मान गरे ।

कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकार त्यसतर्फ हुनुपर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कार्गो व्यवसायलाई विभिन्न अव्यावहारिक करले दुखः दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाइ निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए । फ्रेट फरवार्डस्  एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमावलीमा समयानुकूल परिवर्तन गर्नुपर्ने बताए ।