काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन्। सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई सोमबार प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनु स्वाभाविक रहेको बताए।
‘जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ’, उनले भने। प्रधानमन्त्री ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गरे।
‘उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु’, उनले भने, ‘उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरु क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।’
युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद ४० हजारसहित पुरस्कृत भए ।
सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । विसं १९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उनकी सुपुत्रीको निधन भएकाले स्थगित गरी सोमबार गरिएको हो ।



About Us
प्रतिक्रिया