घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार


काठमाडौं – काठमाडौं मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ। कलजेका निर्देशक प्रा. डा. मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए ।

‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उनले भने, ‘घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ।’

यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।