नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को सम्पूर्ण तयारी सम्पन्न, बैंकिङ्ग समाचार डटकमबाट प्रत्यक्ष प्रशारण हुने


काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को सम्पूर्ण तयारी सम्पन्न भएको छ। बैंकिङ्ग समाचार डटकमको आयोजना, ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते अर्थात् भाेलि हुने दोस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को सम्पूर्ण तयारी सम्पन्न भएको हो।

बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलका अनुसार काठमाडौंको हायत रिजेन्सीमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा हुनेछ। उनले सो कार्यक्रममा चारओटा सत्रमा विशेष छलफल हुने जानकारी दिए ।

उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहनेछ। सो कार्यक्रमको विभिन्न सत्रमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ।

सो कार्यक्रमले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको निर्देशक ढुंगेलले जानकारी दिए। हायत रिजेन्सीमा आयोजना हुने उक्त कार्यक्रमको बैंकिङ्ग समाचारको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ। निर्देशक ढुंगेलले भने, ‘ हामीले डिस्कोर्सलाई लिएर धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेका छौँ। हाम्रा शुभचिन्तक, सरोकारवालाहरुलाई लक्षित गरी हामीले प्रत्यक्ष प्रशारणको व्यवस्था गरेका हाैँ।’