विश्वकीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

विश्वकीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ


काठमाडाैं – विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात् ‘एभरेस्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।नेपाल महिला रेस्लिङ फाउन्डेनको आयोजनामा मंगलबार पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो।नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो) बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती  खड्का विजयी भइन्।

रेस्लिङ खेलमार्फत्र विश्वकीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो विश्वरेकर्ड हुने दाबी गरिन्। हास्य प्रस्तुतिसहित हास्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए भने मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्। कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पा स्थानीय सहजीकरण गरेका थिए।