काठमाडौं – नेपाल वित्तीय संस्था कर्मचारी संघले सानिमा क्यापिटल लिमिटेडमा कार्यरत कम्प्लाइन्स अफिसर रश्मी रिजालको आत्मदाहको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ ।
प्रारम्भिक रूपमा सार्वजनिक भएका विवरणहरूका आधारमा यस घटनालाई लिएर विभिन्न प्रश्नहरू उठिरहेको भन्दै संघले घटनाको वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार तथा सम्बन्धित पक्षहरूको भूमिकाबारे सत्यतथ्य सार्वजनिक हुन बाँकी रहेको अवस्थामा अनुमानका आधारमा निष्कर्ष निकाल्न उपयुक्त नहुने बताएको छ ।
नेपालको पूँजीबजार तथा समग्र वित्तीय क्षेत्रमा पछिल्लो समय कर्मचारीमाथि बढ्दो कार्यबोझ, अस्वाभाविक कार्यदबाब, सीमित जनशक्तिबाट अत्यधिक कार्य सम्पादन गराउने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय तथा मानसिक स्वास्थ्यप्रति संस्थागत बेवास्ता जस्ता विषयहरू गम्भीर चिन्ताको विषय बन्दै गएका छन् । यस्ता परिस्थितिले कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक जीवन, पेशागत आत्मविश्वास तथा कार्यक्षमतामै नकारात्मक असर पारिरहेको यथार्थलाई अब सामान्य रूपमा लिन नसकिने बताएको हो ।
‘रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र, पारदर्शी, वैज्ञानिक तथा प्रमाणमा आधारित छानबिन गरी सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरियोस् ।’ संघले विज्ञप्तीमा भनेको छ, यदि अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थागत तहबाट मानसिक उत्पीडन, दुर्व्यवहार, लापरवाही वा कानुनविपरीत कार्य भएको पुष्टि भएमा दोषीउपर कानुन बमोजिम कडा कारबाही गरियोस् ।’
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायत पूँजीबजार नियमन गर्ने निकायहरूले पूँजीबजार तथा वित्तीय क्षेत्रमा कर्मचारीहरूको कार्यदबाब, कार्यस्थलको वातावरण, मानसिक स्वास्थ्य तथा श्रम अधिकारको अवस्थाबारे विशेष अध्ययन गरी आवश्यक सुधारात्मक कदम चालिनुपर्ने वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले बैंक, वित्तीय संस्था, बीमा तथा पूँजीबजार क्षेत्रमा स्वस्थ कार्यसंस्कृति, पर्याप्त जनशक्ति, व्यावहारिक कार्यसमय, सुरक्षित कार्यस्थल तथा मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी प्रभावकारी मापदण्ड लागू गर्न आवश्यक पहल गर्नुपर्ने र वित्तीय क्षेत्रका सबै रोजगारदाताहरूले कर्मचारीको मानसिक स्वास्थ्य संरक्षण, कार्यस्थलमा मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्य वातावरण सुनिश्चित गर्न तत्काल आवश्यक नीति तथा संयन्त्र कार्यान्वयन गर्नुपर्ने बताएको छ ।








About Us
प्रतिक्रिया