अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोसहित २ जनामाथि गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

महतोले अध्यागमन सूचना प्रणालीमा रहेको यात्रु केन्द्रीकरण सुविधाको दुरुपयोग गरी लक्जेम्बर्गका नागरिक पल क्रिश्चियन पियरे गेदित्जको नाममा जारी भएको आवासीय भिसालाई किर्ते गरी अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा एकीकृत यात्रु केन्द्रीकरण गरेको खुलेको छ। अनुसन्धानका क्रममा कानुनबमोजिमको प्रक्रिया पूरा नगरी, अधिकारप्राप्त अधिकारीबाट आवश्यक निर्णयसमेत नगराई तथा आवासीय भिसा जारी गर्दा तिर्नुपर्ने राजस्वसमेत दाखिला नगरी २०८० फागुन ९ मा नेपाली पोर्ट प्रणालीमा रहेको सुविधा दुरुपयोग गरी भिसासम्बन्धी सम्पूर्ण अभिलेख अमेरिकी नागरिक रोबिन्सनको नाममा परिवर्तन गरिएको पाइएको हो ।

आयोगका अनुसार, उक्त भिसा रोबिन्सनले प्राप्त गरी आफ्नो राहदानीमा टाँसेका थिए र सोही राहदानीको आधारमा नेपालमा बसोबाससमेत गरेको देखिएको छ। सरकारी अभिलेख यथावत राख्नुपर्ने दायित्वविपरीत नेपाली पोर्ट प्रणालीमार्फत सरकारी अभिलेख सच्याउने, केरमेट गर्ने, थपघट गर्ने तथा हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि–नोक्सानी पुर्‍याउने कार्य भएको खुल्न आएको आयोगले जनाएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ तथा अमेरिकी नागरिक डिन जे रोबिन्सनमाथि सोही ऐनको दफा २२ बमोजिम कसुर गरेको आरोप उनीहरुमाथि देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।