काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण अर्थात् बजेट प्रस्तुत गर्दैछ। आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।
याे सँगै नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष भएको छ। नेपालमा पहिलो पटक वि.स. २००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर जबराले पहिलो बजेट ल्याएका थिए। उनले ल्याएको बजेट नै नेपालको पहिलो सरकारी हिसाबकिताब सहितको पहिलो बजेट हो। त्यसयता, निरन्तर (केही वर्ष बाहेक) प्रत्येक वर्ष बजेट प्रस्तुत हुँदै आएको छ। काँग्रेसका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र काँग्रेसका अर्थमन्त्री सुवर्ण शमशेर राणाले नेपालको पहिलो बजेट ल्याएका हुन्। नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो।नेपालको पहिलो बजेट तीन हजार पाँच सय शब्द हाराहारीको थियो।
उक्त बजेटमा २००७ सालको कुल–आम्दानी खर्चनै यकिन हुन नसकेको समेत भनिएको थियो। उक्त बजेटमा नेपालको दोस्रो बजेट वैशाख अगावै आउने र त्यसले एक वर्षको योजना मात्र नभई केही वर्षका हुने अर्थमन्त्री राणाले बजेटमा भनेका थिए। यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईँहरूलाई विदितै छ,’ पहिलो बजेट वक्तव्यमा लेखिएको छ, ‘अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ।’ ‘प्रजातन्त्र अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईँहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु,’ तत्कालीन अर्थमन्त्री जबराले भनेका थिए।





About Us
प्रतिक्रिया