बझाङको साईपालमा चालु आवमै शाखा खाेल्न सहमति

बझाङको साईपालमा चालु आवमै शाखा खाेल्न सहमति


काठमाडौं – हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेको बझाङको साईपाल गाउँपालिकामा चालु आर्थिक बर्ष २०८०–८१ भित्र एभरेष्ट बैंकको शाखा स्थापना गर्ने सहमति भएको छ। शुक्रबार राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी, साईपाल गाउँपालिका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंकका प्रतिनिधिहरुबीच भएको छलफल पछि यस्तो सहमति भएको हो।

नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । तर, बिना सम्भाव्यता अध्ययन गरिएको सो घोषणा उक्त वर्ष सफल हुन सकेन र यसको कार्यान्वयन अवधि थप गरियो । स्थानीय तहमा जाने, ठुलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा बैंकका शाखा खुल्ने क्रम स्वत बढ्दै गयो र हाल  सोही घोषणा अनुरुप ७५२ वटा स्थानीय तहले  बैंकिङ्ग पहुँच प्राप्त गरे । अहिलेसम्म पनि साईपाल गाउँपालिकालाई भने बैंकिङ्ग पहुँचको अधिकारबाट पर बञ्चित गरिएकाे छ। बैंकिङ्ग पहुँचका कारण त्यहाँका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग कारोबार गर्न निकै दुःख भइरहेको छ।

बैंकिङ्ग कारोबार गर्नैका लागि जान आउन मात्र ४ दिन खर्चिनुपर्ने बाध्यता अझै छ।  बैंक नभएकै कारण सम्पर्क कार्यालय सदरमुकाममै राख्नुपर्ने बाध्यता साईपाललाई छ।