कुन मन्त्रीकाे, कुन बैंकमा कति बचत छ ?

कुन मन्त्रीकाे, कुन बैंकमा कति बचत छ ?


काठमाडाैं – सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक सम्पति विवरणमा मन्त्रीपरिषद्का सदस्यहरूकाे अन्य सम्पतिसँगै बैंक खातामा रहेका नगदकाे विवरणहरू पनि सार्वजनिक भएका छन् ।

सार्वजनिक विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एभरेस्ट बैंक लिमिटेडमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्। प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठकाे नगद २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ। जसमा सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ ।यस्तै उनकी श्रीमती जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ। 

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको रहेकाे छ। यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ रहेकाे छ। अर्थमन्त्री वर्षमान पुनकाे एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रूपैयाँ रहेकाे छ।

शिक्षामन्त्री सुमना श्रेष्ठकाे एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको छ। दुवै स्रोत उनले पारिश्रमिक रहेको उल्लेख गरेकी छिन्। साथै मन्त्री श्रेष्ठले नबिल बैंकसहित विभिन्न कम्पनीको शेयर रहेको पनि खुलाएकी छन् । 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठकाे आफ्नो नाममा लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार चार सय सात रुपैयाँ, एभरेष्ट बैंकमा चार सय १८ रुपैयाँ, सिटिजन्स बैंकमा पाँच हजार रुपैयाँ, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख ९१ हजार आठ सय ४६ रुपैयाँ, नबिल बैंकमा चार हजार ८३ रुपैयाँ र सिनर्जी कोअपरेटिभलिमिटेडमा तीन लाख ४१ हजार रुपैयाँ जम्मा रहेको उल्लेख गरेका छन्।

यसका अतिरिक्त आफू र श्रीमती सृष्टी सिंहको संयुक्त नाममा सिनर्जी कोअपरेटिभ लिमिटेडमा २५ लाख रुपैयाँ रहेको पनि उनले उल्लेख गरेका छन् । यी सबै रकम स्वआर्जन र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् । यसैगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेका विभिन्न कम्पनीमा आफ्नो नाममा एक करोड नौ लाख ८० हजार पाँच सय नौ रुपैयाँ बराबरको १५ हजार नौ सय ६ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उनले उल्लेख गरेका छन् ।

श्रममन्त्री डीपी अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ।सञ्चारमन्त्री रेखा शर्माकाे नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ।