बैंकिङ्ग समाचार, लमजुङ ।
अपि पावर कम्पनी लिमिटेड (API) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयरआइतबारदेखि शेयर खरीद गर्ने लगानीकर्ताले नपाउने भएका छन् । कम्पनीले भदौ २५ गते अठारौँ वार्षिक साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ ।
यस अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन भदौ १७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् । सभामा आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।
यसैगरी सभाले बोनस शेयरपछि कायम चुक्ता पूँजीको ३९.३६ प्रतिशत (१ बराबर ०.३९३६ अनुपातमा) मा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखेको छ । सभाले हकप्रद जारी गर्नका लागि नियामक निकायहरुमा आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।
कम्पनीले लाभांश र बोनसपछि हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न भदौ २५ गते प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा बिहान ११ बजे अठारौँ वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया