बैंकिङ्ग समाचार, काठमाडौं ।
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यस साता काराेबार भएकाे अघिल्ला दुवै दिन अर्थात् मंगलबार र बुधबार सेयर बजार निरन्तर घटिरहेकाे थियाे । सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।
बजार ओरालो लागे पनि बिस्तारै झर्ने र उकालो लाग्दा पनि बिस्तारै चढ्ने हुनाले अहिले बजारमा आधारभूत र प्राविधिक दुवै पक्षले काम नगर्ने विश्लेषकहरू बताउँछन् । अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुने विश्लेषकहरूले बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ ।
कूल २३२ वटा कम्पनीकाे २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहकाे सूचक घटेकाे छ । बाँकी ५ वटा उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै विकास बैंक, हाइड्राेपावर र फाइनान्स समूह बढेकाे छ ।
बिहीबार ८ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बिहीबार १२% गुडविल फाइनान्स डिबेञ्चर २०८३, सिटिजन्स म्युचुअल फण्ड २ लगायतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया