क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।

पक्राउमध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।