कर्जा प्रवाह नबढ्दा ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रियो

कर्जा प्रवाह नबढ्दा ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रियो



काठमाडौं, कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । चालु वर्षको सुरुदेखि कर्जा माग नबढ्दा र अर्थतन्त्रको अवस्था नसध्रिँदा बैंकहरुमा यति ठुलो रकम थुप्रिएको हो । चैतको दोस्रो हप्तासम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ९४ अर्ब छ ।

जसमा लगानीयोग्य रकम ६ खर्ब ६१ अर्ब छ । चालु आर्थिक वर्षको साढे आठ महिनामा चार खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो । जसमा दुई खर्ब चार अर्ब मात्र कर्जा प्रवाह भएको छ । बजार माग घटेका कारण व्यवसायिक गतिविधि केही समय यता सुस्त छ । निजी क्षेत्रको मनोबल खस्किएको हुँदा थप लगानीका लागि निजी क्षेत्र उत्साहित हुन नसक्दा बैंकमा पैसा थुप्रिएको बैंकरहरुको बुझाई छ ।