वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ३१ लाख ठग्ने ३ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ३१ लाख ठग्ने ३ जना पक्राउ


काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका–५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दी बेनी नगरपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११ जाल्पाचोक बस्ने ३९ वर्षीया राममाया गुरूङ रहेका छन् ।

पक्राउ परेकामध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाईदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपैयाँ ठगी गरेको र महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाईदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सुवासलाई काठमाडौं पालबारी, महेन्द्रलाई काठमाडौं जोरपाटी र राममायालाई काठमाडौं कालिमाटीबाट पक्राउ गरको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।