भन्सार छलि ल्याएको सुनसहित दुई जना पक्राउ

भन्सार छलि ल्याएको सुनसहित दुई जना पक्राउ


काठमाडौं– भन्सार छलि ल्याएको सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका–६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट करिब १२८ ग्राम ७ मिलिग्राम सुनको टुक्रा १ थानसहित सोमबार दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।