बालुवाटार जग्गा प्रकरणः राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ऋणको विवरण माग्यो

बालुवाटार जग्गा प्रकरणः राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ऋणको विवरण माग्यो


बैंकिङ समाचार । बालुवाटारस्थित ललिता निवासका घर-जग्गा  धितो राखेर दिएको ऋण रकमबारे राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण मागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गर्नेहरुविद्ध मुद्दा दायर गरेसँगै सो क्षेत्रभित्र पर्ने घर-जग्गा  धितो राखेर ऋण दिएका बैंकहरुलाई जोखिम थपिएकाे छ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ललिता निवासका घर जग्गामा दिइएको ऋण विवरण सम्पूर्ण बैंकहरुसँग माग गरिएको जानकारी दिए। ‘दुई दिनभित्रै उनीहरुले धितो रहेको घर जग्गा र सोवापत प्रवाह भएको ऋणको विवरण पठाउने छन्, त्यसपछि मात्रै बैंकहरुलाई आवश्यक निर्देशन दिइनेछ’उनले भने।

यदी सो जग्गाबाहेक अरु कुनै धितो ऋणीले दिन नसक्ने अवस्था आएमा प्रवाह भएको ऋण रकम बराबर प्रोभिजनिङ गर्नुपर्ने भट्टले बताए। ‘बैंकहरुले थप धितो पनि राखेका हुन सक्छन्, यदी ऋणीले अन्य धितो नदिएको खण्डमा शत प्रतिशत प्रोभिजन गर्नुपर्छ’ उनले भने।

बैंकहरुले त्यस्ता ऋणीसँग थप धितो माग्न सक्नेछन्। अथवा ऋण चुक्ताका लागि आग्रह गर्न सक्नेछन्।

तर ऋणीहरुले थप धितो दिने संभावना न्यून रहेकाले बैंकहरुले सो ऋण बराबरको रकम प्रोभिजनिङ गर्नुपर्नेछ। यसको सिधा असर ति बैंकको नाफामा पर्नेछ।