सांसद बडूले गृहमन्त्री लामिछानेलाई भने, सहकारी ठगी छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्छ

सांसद बडूले गृहमन्त्री लामिछानेलाई भने, सहकारी ठगी छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्छ


काठमाडौं- नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न राजीनामा दिनु राम्रो हुने बताएका हुन्।

सासंद बडूले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए । ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं’ उनले भने ।