काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटा रहेका छन् ।
सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१ बाट मंगलबार पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया