नेपाल राष्ट्र बैंकले आजबाट ‘ग्लोबल मनी वीक २०२४’ मनाउँदैछ। राष्ट्र बैंकले ‘सुरुवात युवाबाटै, बलियो आधार बचतबाटै’ भन्ने मुल नाराका साथ मनी वीक मनाउन लागेको हो। यो कार्यक्रम एक सातासम्म चल्ने छ। उक्त कार्यक्रम ओइसिडिको सहकार्यमा राष्ट्र बैंकले पनि प्रत्येक वर्ष गर्ने गरेको छ।
योसँगै यो साताभरी नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौं उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम हुनेछन्।
के हो ग्लोबल मनी विक (जीएमडब्ल्यू) ?
ग्लोबल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले १८ देखि २४ मार्च सम्म विश्वव्यापी रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो। सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उदेश्यले मनाइने एउटा अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
ओईसीडिले विश्वभरिका सार्वजनिक संस्थाहरुलाई एउटै मञ्चमा एककृत गरी वित्तीय शिक्षाको क्षेत्रमा भएका कामहरुको तथ्यहरु सङ्कलन गर्दै वित्तीय शिक्षाको नीतिगत मूल्याङ्कन तयार गर्दछ। जी २० तथा एपेक जस्ता फोरमहरुमा समेत ओईसीडि/आइएनएफको वित्तीय शिक्षा सम्बन्धी उच्चस्तरीय सिद्धान्त तथा प्रक्रिया अनुमोदित भएको छ।
नेपालमा ग्लोबल मनी विक
नेपालले सन् २०१३ देखि ग्लोबल मनी विक मनाउन थालेको देखिन्छ। उक्त वर्ष नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, नीति निर्माता, युवा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा सञ्चारकर्मीहरुको उपस्थितिमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजन गरेको थियो। सोही वर्ष नेपाल राष्ट्र बैंकले ‘पैसाको बोट’ नामक वित्तीय साक्षरता पुस्तक १२००० प्रति वितरण गरेको थियो।

नेपालमा पनि बालबालिका तथा युवाहरुमा क्रमिक रुपमा वित्तीय ज्ञान र सिप अभिवृद्धि गर्दै व्यवहारिकक रुपमा सक्षम बनाउँदै उनीहरुलाई सुझबुझपूर्ण वित्तीय निर्णय लिन, अभिप्रेरित गर्ने उदेश्यकासाथ नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले हरेक वर्ष ग्लोबल मनी विकको सन्दर्भमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।
‘प्रोटेक्ट युअर मनी, सेक्योर युअर फ्युचर’ : २०२४
यो वर्षको ग्लोबल मनी विकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर युअर फ्युचर’ अर्थात् ‘आफ्नो पैसाको सुरक्षा गरौं, आफ्नो भविष्य सुनिस्चित गरौं’ रहेको छ। वित्तीय क्षेत्रमा रहेको जोखिमको बारेमा सचेत रही आफ्नो दुखले कमाएको पैसालाई कसरी सुरक्षित गर्ने, वित्तीय ठगीका लागि प्रयोग हुने लोट्री स्क्याम, रोमान्स स्क्याम, मनी म्युलिंग, सूचना तथा व्यक्तिगत परिचय र संवेदनशील सूचनाको चोरीबाट हुन सक्ने पैसा तथा सम्पतिको ठगीबाट कसरी बच्ने जस्ता विषयलाई युवाहरु माझ पुर्याउने लक्ष्य यो वर्षको ग्लोबल मनी विक कार्यक्रमले तय गरेको छ।
वित्तीय शिक्षा तथा अनुभवको कमीले विश्वभरिका युवाहरु वित्तीय ठगीको सिकार हुने क्रम बढिरहेको विषयलाई लक्षित गर्दै यो नारा तय गरिएको छ।



About Us
प्रतिक्रिया