विकास बैंक र बैंकिङ्ग समूह वाहेकका सबै परिसूचक घटे, १४ अर्बभन्दा बढीको कारोबार

विकास बैंक र बैंकिङ्ग समूह वाहेकका सबै परिसूचक घटे, १४ अर्बभन्दा बढीको कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीवार विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले बढेको हो । विकास बैंकसँगै यस दिन बैंकिङ्ग समूहको परिसूचक पनि शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । 

यी दुई बाहेक अन्य समूहको परिसूचक भने यो दिन घटेको छ । यस दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव १६ प्रतिशत घटेको छ । 

त्यस्तै व्यापारिकको १ दशमलव शून्य ९ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव १४ प्रतिशत, वित्तको शून्य दशमलव ८४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३४ प्रतिशत, अन्यको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५९ प्रतिशत परिसूचक घटेको छ । 

यसैगरी जीवन बीमाको शून्य दशमलव २९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत र लगानी समूहको १ दशमलव ४३ प्रतिशत परिसूचक घटेको छ ।

यस दिन अधिकांश समूहगत परिसूचकहरु घट्दा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि १६ अंक अर्थात शून्य दशमलव ५१ प्रतिशत घटेको छ । यस दिन नेप्से परिसूचक ३ हजार १०७ दशमलव ४५ विन्दुमा बन्द भएको हो । ३ हजार १३० दशमलव ५४ विन्दुदेखि खुलेको बिहीवारको बजार ३ हजार १३६ दशमलव ८० विन्दुसम्म पुगेको थियो ।

यस दिन युनिभर्सल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७९ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६ ले घटेर अन्तिम मूल्य रू. ४९४ मा झरेको हो । सर्वाधिक मूल्य घट्ने दश कम्पनीभित्र यो दिन जलविद्युत् कम्पनीहरुनै रहेका छन् ।

निकै उतारचढावका बीच दोहोरो अंकले घटेको बजारमा चार ओटा कम्पनीको शेयरमूल्य भने उच्च दरमा बढेको छ । नेपाल फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र जीवन विकास लघुवित्तको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ भने यूनियन लाइफ इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशतले बढेको हो । 

नेपाल फाइनान्सको प्रतिकित्ता रू. ६५ दशमलव ५० ले बढेर अन्तिम मूल्य रू. ७२० दशमलव ५०, कर्णाली डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ४० दशमलव ७० ले बढेर अन्तिम मूल्य रू. ४४७ दशमलव ७०, जीवन विकास लघुवित्तको प्रतिकित्ता रू. १३६ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. १ हजार ५०६ दशमलव २० र यूनियन लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४३ दशमलव ८० ले वृद्धि भई रू. ४८२ दशमलव ७० कायम भएको छ । 

बिहीवार रू. १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२६ कम्पनीको १ लाख ३५ हजार ४२ पटकको व्यापारमा भएको हो । 

यस दिन सर्वाधिक रकमको कारोबार गर्ने पाँच कम्पनीभित्र अपर तामाकोशी, अपि पावर, अरुणभ्याली हाइड्रोपावर, फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक र अरुण कावेली पावर रहेका छन् । कुल कारोबारमा सर्वाधिक हिस्सा भने अपर तामकोशीले ओगटेको छ । अपर तामाकोशीको रू. ६५ करोड ३० लाख ६१ हजार बराबरको शेयर कारोबार भएको हो । 

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. शून्य दशमलव ८० ले वृद्धि भई रू. ७६२ कायम भएको छ । दोस्रोमा सर्वाधिक रकमको अपि पावरको रू. ५८ करोड ४२ लाख ४७ हजार बराबरको शेयर कारोबार भएको छ । 

अपि पावरको शेयरमूल्य भने प्रतिकित्ता रू. १२ दशमलव ३० ले घटेर अन्तिम मूल्य रू. ५५२ कायम भएको छ ।