मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री दाहाल आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौती दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाए ।