डीडीसीमै थन्कियो सवा १ अर्बको पाउडर दुध र मख्खन


काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किएका कारण किसानलाई रकम भुक्तानीमा पनि समस्या देखिएको छ।

डीडीसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत १ लाख ४० हजार लिटर दुध खरिद गर्दै आए पनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिँदा समस्या देखिएको बताए ।

‘हामीले मासिक ४२ लाख लिटर दुध किसानमार्फत खरिद गर्छौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,’ उनले भने । दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आएको उनको भनाइ छ । डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा गरेको छ ।

डीडीसीमा हाल सवा १ अर्ब रुपैयाँ बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा ९ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ । संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् ।

डीडीसीले हाल गुणस्तरका आधारमा चार प्रतिशत फ्याट र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ रुपैयाँमा खरिद गर्ने गरेको छ । संस्थानले खरिद गरेको दुध न्यूनतम प्रतिलिटर ८४ देखि १२४ रुपैयाँसम्म बिक्री गर्दै आएको छ । डीडीसीले दही प्रतिलिटर १५० रुपैयाँ तथा घिउ वितरकलाई प्रतिकिलो १ हजार ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । (रासस)