हाथवे इन्भेष्टमेन्टको नाममा शेयर बिक्रीको नक्कली पत्र, लगानीकर्तालाई सचेत रहन आग्रह


काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीका शेयरधनी अम्बिका प्रसाद पौडेलले १५ लाख कित्ता शेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको भनिएको पत्र नक्कली भएको स्पष्ट पारेको छ। कम्पनीले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पार्दै लगानीकर्तालाई भ्रममा नपर्न आग्रह गरेको हाे। कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई सम्बोधन गरिएको चलानी नं. ३५/३/६४, मिति २०८३/०६/११ उल्लेख भएको ‘शेयर बिक्री गर्ने सम्बन्धमा’ विषयको पत्र नक्कली भएको जनाएको छ।

उक्त पत्रमा कम्पनीका शेयरधनी पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्ने कम्पनीलाई जानकारी गराएको उल्लेख गरिएको थियो। कम्पनीका अनुसार उक्त पत्रमा प्रयोग भएको लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षरसमेत अनधिकृत रूपमा प्रयोग गरिएको छ। कम्पनीले पौडेलबाट १५ लाख कित्ता वा अन्य परिमाणको शेयर बिक्री गर्ने मनसायसहित त्यस्तो कुनै निवेदन, सूचना वा जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ।

कम्पनीले यस विषयमा नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा लिखित उजुरी दिने प्रक्रिया अघि बढाएको जनाएको छ। साथै कम्पनीसम्बन्धी आधिकारिक सूचना कम्पनीको वेबसाइट तथा आधिकारिक सूचना प्रणालीमार्फत मात्र सार्वजनिक गरिने स्पष्ट पारेको छ। हाथवे इन्भेष्टमेन्टले सामाजिक सञ्जाल तथा अन्य माध्यममा प्रसारित अप्रमाणित सूचना तथा कागजातका आधारमा कुनै निर्णय नगर्न शेयरधनी तथा लगानीकर्तालाई आग्रह गरेको छ।