बैकिङ्ग समाचार, काठमाडौं ।
कारोबारका क्रममा दिउँसो २८ सयमुनि आएको सेयर बजारको परिसूचक नेप्से अन्त्यमा सम्हालिएको छ। दिनभरजसो उतारचढावका बाबजुत अन्त्यमा बजार जम्मा ४ अंकको गिरावटमै रोकियो। सो अंक घटेसँगै परिसूचक २८२३ अंकमा कायम भएको छ।
परिसूचक दिउँसो १२ः ४० बजे २७८२ अंकसम्म झरेको थियो। यस दिन कारोबार रकम भने बढ्न सकेन। जम्मा ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। समूहगत रुपमा हेर्दा यस दिन फाइनान्स र विकास बैंकका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन्। विकास बैंक १३६, फाइनान्स ११८ अंकले बढे। त्यस्तै जलविद्युत २, निर्जीवन बीमा ५, उत्पादन ५७ र अन्य १८ अंकले बढे।
बैंकिङ ४, ब्यापार २२, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४७, जीवन बीमा ११२ र लगानी समूह २ अंकले घटे। यस दिन पोखरा फाइनान्सको मूल्य भने १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ। त्यस्तै सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ।
बेस्ट, आइसिएफसी, श्री इन्भेष्टमेन्ट फाइनान्स र कर्णाली विकास बैंकको मूल्य ७ प्रतिशत धेरैले बढेको छ। जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। खानीखोला हाइड्रोको मूल्य ३.३ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३० करोडको कारोबार हुँदा मूल्य ३.३ प्रतिशतले बढ्यो। एनएलजी इन्स्योरेन्सको २१ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ३.६ प्रतिशतले बढेको छ।
प्रतिक्रिया