आगामी आर्थिक वर्षमा बजेटको सिलिङ नबढाए नयाँ काम गर्न सकिँदैन : सचिव शर्मा


काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन् । बिहीवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडी बढाउन सकिने बताएका हुन् ।

उनले बजेटको सिलिङ नबढेमा कुनै नयाँ काम अगाडी बढाउन नसकिने भएकाले सरकारको नीति तथा कार्यक्रममा पनि केही नलेखे हुने बताए । आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको उनले जानकारी दिए । साथै नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताउँदै १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गरे । तर सिलिङ नथपिएमा नयाँ काम गनै पनि नसकिने उनको भनाइ छ । ।

उनले भने, ‘यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडी बढ्नुपर्ने अवस्था छ । अन्यथा बजेटको आकार बढाउनुपर्ने छ ।’ उनले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरेअनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको स्पष्ट पारे । उनले भने, ‘आर्थिक वर्ष २०७९/८० मा हाम्रो मन्त्रालयको बजेट १६५ अर्ब । यसमा १० प्रतिशत मात्रै बढाएको भएपनि ०८०/८१ मा १८२ हुनुपथ्र्यो । भयो १३१ । अब आउने २०८१/८२ को हाम्रो सिलिङ २०० अर्ब हुनुपथ्र्यो । अझ आर्मीको फास्ट ट्रयाक पनि यसैमा छ फेरी । आर्मिको फास्टट्रयाक त समय सकिन थाल्यो । अब त्यहाँ धेरै बजेट दिनुपर्छ । तर अहिले पनि सिलिङ आयो १२४ अर्ब ।’

उनले थपे, ‘यो १२४ अर्ब पुँजिगत बजेटले हाम्रो सिनारियो कस्तो छ भने यो भन्दा पहिल्यै ठेक्का भइसकेकोमा ३ खर्ब ३ अर्ब हामीसँग कन्ट्रयाक्टको कमी हुँदैछ । त्यसलाई हामीले सामान्यतया ३ वर्षलाई मान्यौँ भनेपनि सडक विभागको मात्रै कुरा गर्दा १०१ अर्ब पुराना कामहरुका लागि छुट्याउनुपथ्र्यो । २० अर्ब जति यो आर्थिक वर्षमा पनि केही न केही त ठेक्का भएका छन् । अनि १० अर्ब सम्मको नयाँ ठेक्का निकालौँ न त अर्को वर्ष भन्यौँ भनेपनि सडक विभागलाई चाहिन्थ्यो १३०, आर्मीलाई चाहिन्थ्यो ५० र अरु रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा आएको छ १२४ । यहीँ भित्रबाट फेरि बाड्ने हो । कसरी धान्ने भनेर एकदमै दबाबमा परिन्छ ।’

अन्य मन्त्रीहरुले आफूले भनेको ठाउँमा लगानी नगरेको गुनासो गर्दै आएको पनि उनले बताए । भने, ‘हामीले एउटा सिलिङभित्र बसेर काम गर्नुपर्छ । पौडि खेल तर हातखुट्टा चाहीँ बाँधिदिन्छु भनेको जस्तो जसरी पनि गर्नुप¥यो । मेरो निरिहता यहाँ प्रकट गरेँ । मैले सिलिङभन्दा बाहिर गएर त बाँड्न सक्दिनँ । हाम्रो सिलिङ यति नै हो त थपिन्छ कि ? होइन भने हामी नयाँ त केही पनि गर्न सक्दैनौँ । नीति, कार्यक्रममा पनि केही पनि नलेखे हुन्छ । त्यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु । अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ । कि दुईचार वर्ष पुराना काम सकाउ र नयाँमा जाऔँ । कि बजेटको आकार बढाऔँ ।’

उनले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताउँदै ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि जानकारी दिए । (न्युज एजेन्सी नेपाल)