कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा धक्का, खर्बौ रकमको क्षती

कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा धक्का, खर्बौ रकमको क्षती


एजेन्सी, अमेरिकासँगको व्यापार तनावका कारण समस्यामा रहेको चिनियाँ अर्थतन्त्र कोरोना भाइरसको महामारीले थप थिलथिलो बन्ने अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् । 

कोरोना भाइरसका कारण व्यापारमा मन्दी आएसँगै चीनले कर कटौति, ब्याजदर कटौति लगायतका कदमहरु चाल्नुपर्ने हुन्छ । यसले सो देशको अर्थतन्त्रमै नराम्रो धक्का पुग्ने प्रक्षेपण बाहिरिएको हो । 

कोरोना भाइरसबाट अर्थतन्त्रलाई पर्ने प्रभावको दुरुस्त तस्वीर अहिले नै उतार्न असंभव छ, तर केही मिडिया रिसर्च र केही अर्थशास्त्रीहरुको विश्लेषणलाई हेर्दा चीनको ग्रोथमा यो त्रैमासमा २ प्रतिशत प्वाइन्टले गिरावट आउनसक्छ । यसको अर्थ चीनको अर्थतन्त्रले ६२ बिलियन अमेरिकी डलर बराबरको क्षति व्यहोर्नुपर्नेछ । 
गत वर्षको यो देशको जीडीपी ग्रोथ तीन दशककै कमजोर बनेको थियो । अमेरिकासँगको तनावपूर्ण व्यापार सम्बन्धका कारण देश दिनहुँ ऋणको दलदलमा फसिरहेको र त्यहाँबाट माथि उठ्ने कोशिश गरिरहेको बेला कोरोनाको त्रासले फेरि अर्को आर्थिक संकट ल्याइदिएको सिएनएनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

चीनको यूआनमा पहिलोपटक देखिएको कोरोना भाइरसले हालसम्म २०० व्यक्तिको ज्यान लिइसकेको छ भने सयौं बिरामी परेका छन् । 

केन्द्रीय तथा स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रणका लागि हालसम्म १२.६ बिलियन डलर बराबरको बजेट विनियोजन गरिसकेका छन् । महामारी तत्काल नियन्त्रण नहुने हो भने यो आपतसँग लड्ने बजेट निकै ठूलो आकारमा चाहिने अवस्था आउनसक्छ । 

अहिले नै अति प्रभावित क्षेत्रका बैंकहरुले साना तथा मझौला व्यवसायी र व्यक्तिहरुलाई लक्षित गरी ब्याजदरमा कटौति गरिसकेका छन् । बैंक अफ चाइनाले भाइरसबाट अति प्रभावित क्षेत्रका आफ्ना ऋणिहरुलाई ऋणको किस्ता तिर्न समस्या भए कयौं महिनासम्मको सुविधा उपलब्ध गराइने समेत घोषणा गरिसकेको छ । बैंकले भाइरसको महामारी भए पनि तरलता प्रशस्त रहेको समेत दाबी गरेको छ ।