ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति

ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
नेपाल धितोपत्र बोर्डले ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । दुई बैंकको गरी कुल दुई अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डले अनुमति प्रदान गरेको हो ।

ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २७ गते बोर्डबाट अनुमति पाएको हो । बैंकले जारी गर्ने १० वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकले १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने कुल निष्काशित इकाईमध्ये ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गर्न असार ८ गते मंगलवार धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले जारी गर्ने ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

कुल जारी हुने १२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।