बैंकिङ्ग क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारोमा परेको हो : अध्यक्ष केसी

बैंकिङ्ग क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारोमा परेको हो : अध्यक्ष केसी


काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारोमा परेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ्ग प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे ।

नेपाली बैंकहरुमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई उनले आग्रह समेत गरे । उनले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नभएको दाबी गरे । उनले भने, ‘सडक आन्दोलनमार्फत बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको छ । अफै बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो परिरहेको बेला सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पनि सकिएको अवस्था छैन ।’

साथै उनले बैंकहरु सबै डुब्न थाले, खतम हुन थाले भन्ने हल्ला भएपनि बैंकहरु पारदर्शी र सवल रहेको विश्वास दिलाए । विश्वका विकसित मुलुकको अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खोजेकाले नेपालमा पनि कर्जामा ब्याजदर कम हुँदै जाने अवस्था आउने भनाइ राखे । उनले पछिल्लो समय बैंकहरुको खराब कर्जा बढे पनि बैंकहरुले त्यसलाई धान्न सक्ने अवस्था यथावत रहेको जानकारी गराए ।

उनले समग्रमा ३.४० प्रतिशतले खराब कर्जा बढेको बताउँदै नेट एनपीए १.४० हुँदा बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको उल्लेख गरे । वचतकर्तालाई सुरक्षित गर्नेगरी बैंकहरुले काम गरिरहेको दाबी केसीको छ । .योसँगै सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या भएको बताउँदै रेमिट्यान्स बढ्दै गइरहेको बेला वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भएपनि यसको प्रयोग गर्न जान्न आवश्यक रहेको बताए । ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै बैंकहरुमा पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेकोकेसीको भनाइ छ । (न्युज एजेन्सी नेपाल)