साढे पाँच हजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छः गृहमन्त्री श्रेष्ठ

साढे पाँच हजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छः गृहमन्त्री श्रेष्ठ


काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडतहरुलाई न्याय दिने काम भइरहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइरहेको बताएका हुन्।

उनले तत्कालीन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताए। प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उनको भनाइ छ। त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए। उनले पीडितलाई हर हालतमा न्याय दिने दाबी गरे।

उनले भने, ‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइराखेको छ। तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ। त्यसको निम्ति अहिले हामीसँग कानुन छ। बाँकी रहेका सबै उजुरीहरुलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं। जिल्ला प्रहरी कार्यालयले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ। पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ। त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ। यो प्रक्रियामा हामी छौं। त्यसकारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौं। म सबैलाई अपील गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौं।’