अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारमा नेपाल पछाडि छ:  रुपेश जोशी

अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारमा नेपाल पछाडि छ:  रुपेश जोशी


नेपालमा हवाई क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रबाट सेवाप्रदायकका रुपमा काम गरिरेहका वायुसेवा कम्पनीको अवस्था, चुनौती तथा योगदान र राज्यले हवाई क्षेत्रका लागि गरेको कामको पर्याप्तता , पुर्वाधार निर्माणका साथै नेपालमा पर्यटन र हवाई क्षेत्रलाई संगै अगाडी लैजान अहिले सम्म भएका प्रयासहरुका बारेमा चर्चा गर्दै अन्तर्राष्ट्रिय हवाईसेवा विस्तारमा नेपाल कसरी अगाडी बढ्न सक्छ र बुद्ध एयरको आगामी योजना  लगायतका बिषयमा बुद्ध एयरलाइन्सका बजार ब्यवस्थापन तथा ग्राउण्ड ह्याण्डलिङ विभागका निर्देशक रुपेश जोशीसँग बैंकिङ्ग समाचारको कार्यक्रम ‘एभीएसन टक’ मा सुरेन्द्र कट्टेलले गरेको कुराकानी : 

निजी क्षेत्रबाट सेवा प्रदान गरिरहेका वायुसेवा कम्पनीको अहिलेको अवस्था कस्तो छ ? 

समग्रमा भन्नुपदा राम्रै छ कोभिड अगाडिकै अवस्थामा आईपुग्न अझै बाँकी नै छ, तर  हामी कोभिड १९ अघिको अवस्थामा फर्कने कोसिसमा छौं । कोभिडका कारण ८ महिना जति शुन्य प्रतिफलमा काम गर्नु परेपनि  हामी सुधारउन्मुख छौं । सुधारको विकसित अवस्था ७० प्रतिशतसम्म छ ।

राज्यले अहिले हवाई क्षेत्रका लागी जे जति गरेको छ निजी क्षेत्रलाई पर्याप्त छ ? 

राज्यले पछिल्लो ७ देखी ८ बर्षको  अवस्थालाई हेर्दा पुर्वाधार विकासमा राम्रो काम गरेको छ । सरकारले गरेको कामलाई धन्यवाद दिनुपर्छ । अहिले आएर अधिकांस ठाउँमा राति उडान हुन थालेको छ । विभिन्न एयरपोर्टहरुमा टर्मिनलहरु बन्दै छन् । यात्रुलाई पनि थप सहज हुदै गएको छ । त्यसका साथै ठुला जहाजका लागी  धावनमार्गपनि बिस्तार हुँदै छ यो राम्रो पक्ष हो । 

नेपालमा हवाई सेवालाई राम्रो विकल्पको रुपमा थप विकास गर्न कतिको आवश्यक छ ? 

नेपालमा हवाई सेवालाई राम्रो विकल्पको रुपमा विकास गर्न आवश्यक छ । भौगोलिक विकटताले गर्दा नेपालमा हवाई सेवाको थप विकल्प पुष्टी हुन्छ । आन्तरिक हवाईसेवा त्यसै अनुरुप बढ्दैपनि गएको छ । तर अन्तर्राष्ट्रियरुपमा बिस्तार हुन सकेको छैन । अन्तर्राष्ट्रिय हवाई सेवा बिकास हुन थप जरुरी छ । जसले नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रियरुपमा विस्तार गर्छ । 

अन्तर्राष्ट्रिय हवाई सेवा विस्तारमा नेपालको अवस्था कस्तो छ ?  

आन्तरिकरुपमा हवाई सेवा राम्रोसँग विस्तार भए पनि अन्तर्राष्ट्रियरुपमा हामी पछाडि नै छौ  । नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सगरी जम्मा  २ वटा केरियर छन् ।  नेपालको क्यारियर ले ५० प्रतिशत यात्रु बोक्नु पर्ने र बाहिरको केरियरले ५० प्रतिशत बोक्नु पर्ने हो तर नेपालको केरियर २० प्रतिशत पनि यात्रु बोकेको छैन । विदेशी वायुसेवाले हाम्रो देशका यात्रु बोके बापत हामीले पाउने उत्तिनै संख्याका यात्रु हाम्रो देशका जहाजले बोक्न नपाएपछि  नेपालको सबै पैसा बाहिर गईरहेको छ । कम्तीमा पनि ५०–५० प्रतिशत हुनै पर्ने हो । तर, हाम्रो देशमा यो अवस्था नभएकाले  हामीले पाएको कोटा संख्या खेर फाल्न बाध्य छौं ।

नेपालमा पर्यटन र हवाई क्षेत्रलाई सँगै अगाडी लान अहिले सम्म भएका प्रयास पर्याप्त छन ? सँगसँगै लैजान थप के गर्नु पर्छ ?  

हवाइ क्षेत्र र पर्यटन एक अर्काका परिपुरक हुन् ।  नेपालमा टुरिजम (पर्यटन) नभैकन हवाई क्षेत्र चल्दैन । आन्तरिक हवाई यात्रुले मात्र हवाई क्षेत्र टिकाउ हुनै सक्दैन । नेपालमा पाँचतारे होटलको संख्या बढेको छ तर पर्यटन क्षेत्रको आकार बिस्तार गरेर पर्यटक पनि बढाउनु पर्छ । त्यसमा पर्यटन बोर्डको सक्रियता कम भएको छ । नेपालको प्रचार पर्यटन बोर्डले गरेर प्रतिस्पर्धात्मक बजारमा आफुलाई बलियो बनाउनु पर्छ । 

अन्तर्राष्ट्रिय विमानस्थलहरु थपिए तर चल्न सकेनन् के गर्दा चल्न सक्लान त ? सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन र ब्यवस्थापन गर्न दिने कुरा गरिरहेको छ यस विषयमा तपाईको धारणा के छ  ? 

थपिएका विमानस्थल अध्ययन  पुगेरै सञ्चालित भएका होलान  । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको बिकल्प पनि आवश्यक थियो । योजनाबद्ध तरिकाले काम गर्न सके थपिएका विमानस्थल मज्जाले चल्ने थिए त्यसका लागी भारत र चीनबाट पर्यटक ल्याउन सक्नुपर्छ । निजी क्षेत्रलाई विमानस्थल सञ्चालन र ब्यवस्थापन गर्न दिदा हवाई सेवा झन महंगो बन्न सक्ने खतरालाई ध्यान दिदै पर्याप्त गृहकार्य गर्न आवश्यक छ । 

अन्तर्राष्ट्रिय उडान अनुमति पाएको बुद्ध एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको थप बिस्तार गर्ने केही योजना बनाएको छ? 

अहिले हामी तत्काल भारतको अयोध्यामा उडान विस्तार गर्ने योजनामा छौं । तर , तत्काल यो अवस्थामा नयाँ ठुला जहाज थपेर थप अन्तर्राष्ट्रिय उडान बिस्तार गर्ने योजनामा छैनौं । बिना अध्ययन आन्तरिक रुपमा उडान भरेर कमाएको पैसा अन्तर्राष्ट्रिय उडान विस्तार गरेर छोटो यात्रा गर्न चाहँदैनौं । 

सेवा प्रदायकका रुपमा नेपालमा हवाई सुरक्षाको अवस्था कस्तो देख्नु हुन्छ ? अहिलेसम्म ईयूले प्रतिबन्धबाट किन नहटाएको होला ? 

नेपालमा हवाई सुरक्षाको अवस्था राम्रो छ । यो क्षेत्रमा सुरक्षालाई हामीले पहिलो प्राथमिकतामा राख्नै पर्छ । सबै सेवाप्रदायकहरुले सबै सुरक्षा मापदण्ड नियामक निकायले भने बमोजिम पालना गर्नैपर्छ । हवाइ सुरक्षाकै कारण देखाउदै युरोपेली संघ (ईयू ) ले लगाएको प्रतिबन्ध चाँडै हट्छ भन्नेमा हामी आशावादी छौं । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले गरेको मुल्याङ्कनमा नेपालको अहिलको अवस्था राम्रो भएकाले उसले प्रतिबन्ध हटाएको छ  र ईयू प्रतिबन्धको सम्बन्धमा चाहि अन्यकारणले हो भने ईयूसँग कूटनीतिक पहल गर्नुपर्छ ।

निजी क्षेत्रले हवाई सेवा विस्तार गर्नका लागी राज्यले के सहयोग गर्नुपर्छ र निजी क्षेत्रले थप योगदान दिन के गर्न सक्छ ?  

निजी क्षेत्रले राम्रै गरिरहेको छ निजी क्षेत्रलाई काम गर्न सजिलो बनाईदिनुपर्छ । तर राज्यले कर बढाएको छ भ्याट लगाईदिएर समस्या बनाएको छ । नयाँ नीति बनाउँदा निजी क्षेत्रसँग सल्लाहा नगरि ल्याउनु भएन । निजी क्षेत्रसँग छलफल नगरि नयाँ कुरा सरकारले ल्याउँदा साेच्नुपर्छ । सरकारले हतारमा गर्ने निर्णयले सेवाग्राहीलाई सेवा शुल्क महंगो पर्न जान्छ ।