अन्तर्राष्ट्रिय हवाई सेवा बहुआयामिक योगदानको हिस्सा कसरी बनिरहेको छ ?

अन्तर्राष्ट्रिय हवाई सेवा बहुआयामिक योगदानको हिस्सा कसरी बनिरहेको छ ?


काठमाडौं-अन्तर्राष्ट्रिय हवाई सेवामा नेपालका हिमालय एयरलाइन्स (संयुक्त उद्यम) र नेपाल वायुसेवा निगमदेखि बाहेक अन्य धरै विदेशी वायुसेवा कम्पनीले नेपालबाट सेवा प्रदान गरिरहेका छन् । अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने कम्पनीहरूलाई यहाँको वातावरण विश्व बजार सुहाउँदो छ त ? नेपालमा अन्तर्राष्ट्रिय उडानको माध्यमबाट देशलाई समृद्धिको बाटोमा कसरी लान सकिन्छ ? अन्तर्राष्ट्रिय हवाई सेवालाई थप प्रभावकारी र यात्रु अनुकूल बनाउन के गर्न सकिन्छ ? जस्ता नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान तथा सेवा प्रदायकका विविध विषयमा एयरलाइन्स अपरेटर कमिटी नेपालका अध्यक्ष तथा क्याथे प्यासिफिक एयरवेजका नेपालस्थित एयरपोर्ट अपरेसनल म्यानेजर अबित श्रेष्ठसँग कार्यक्रम ‘एभीएसन टक’ मा गरिएको कुराकानीको (भिडियोसहित) सम्पादित अंश:

अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीको अवस्थालाई आधार मानेर हेर्दा नेपालको वर्तमान हवाई क्षेत्र कस्तो अवस्थामा छ ?

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ पछि हवाई क्षेत्रले अप्ठ्यारो परिस्थिति पार गरेर क्रमश: लयबद्ध रुपमा अगाडि बढ्दै छ । अन्य सेवा प्रदायक कम्पनीहरु पनि थपिने क्रममा छन् भने भएका कम्पनीहरुले बढीभन्दा बढी यात्रुलाई सेवा गर्ने अवसर प्राप्त गरिरहेका छन् ।

नेपाल हवाई क्षेत्रको माध्यमबाट समृद्ध बन्ने सम्भावना कस्तो छ ?

हवाई क्षेत्र देशको समृद्धिको लागि एउटा महत्वपूर्ण औजार हो । जहाज उडेर कति देशले कति कमाउछ भन्ने सोच्दा ठूलो रकम सतहमा नदेखिएला तर देशको अर्थतन्त्रलाई महत्वूर्ण योगदान दिने पर्यटन र रेमिट्यान्स (विप्रेषण) को वाहक माध्यम हवाई यातायात नै हो । त्यसकारण आर्थिक समृद्धिको परिकल्पना साकार पार्न हवाई क्षेत्र सम्भावनाकै क्षेत्र भएको कुरा पुष्टी भइरहेको छ।

तपाईँले नेतृत्व गरिरहनुभएको एयरलाइन अपरेटर कमिटीको संरचनागत कार्य के हो ?

एयरलाइन अपरेटर कमिटी नेपाल (एओसीएन्) नेपालबाट अन्तर्राष्ट्रिय रुपमा सेवा प्रदान गर्ने (स्वदेशी तथा विदेशी) वायुसेवा कम्पनीको साझा संगठन हो । यो गैर-नाफामूलक समितिले सुरक्षित र प्रभावकारी हवाई सेवा सञ्चालनका लागि विभिन्न निकाय र पक्षहरूसँग सम्पर्क गर्न वायुसेवा सञ्चालकहरूको साझा आवाजको प्रतिनिधित्व गर्दछ । जसको मुख्य उद्धेश्य भनेको यात्रुको यात्रा प्रभावकारी बनाउनु नै हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने कम्पनीहरुलाई यहाँको वातावरण विश्व बजार सुहाउँदो छ ?

विमानस्थलमा धेरै सेवा प्रदायक संरचना खडा गरिएर सेवा प्रदान गरिएको भएतापनि अन्तर्राष्ट्रिय स्तरको संरचनागत विकासमा केही ध्यानदिन भने आवश्यक छ । यसमा सरकारले ध्यान जरुरी छ ।

तपाईँ आबद्ध अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘क्याथे प्यासिफक’ को नेपालबाट उडान भरिरहँदाको अवस्था कस्तो छ ?

क्याथे प्यासिफक हंगकंगको कम्पनी हो । हाम्रो मुख्य भिजन भनेकै विश्वको उत्कृष्ठ हवाई सेवा प्रदान गर्नु हो । नेपालको कुरा गर्दा हामी हप्ताको ५ दिन सेवा प्रदान गर्छौं । यात्रुको राम्रो संख्यालाई सेवा गर्न पाएका कारण हामी खुशी साथ काम गरिरहेका छौं ।

तपाईँको अनुभवको आधारमा हवाई उद्योग कस्तो खालको उद्योग रहेछ ?

सञ्चालनको दृष्टीले कस्तो उद्योग भन्न सकिन्छ । यो क्षेत्र बहुआयमीक क्षेत्रसँग सम्बन्ध राख्ने क्षेत्र हो । यो उद्योग चल्नलाई यात्रु चाहिन्छ । अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुलाई हेर्ने हो भने जुनै उद्देश्यले यात्रा गरे पनि हवाई जहाजकै प्रयोग गरिएका हुन्छन् । त्यसकारण यो उद्योग संसारलाई जोड्न सक्ने रोचक उद्योग हो। अहिलेको विश्वमा हवाई विनाको यात्रा कल्पना गर्न पनि सकिदैन । हवाई सेवा प्रदान गर्न धेरै प्रक्रिया पुरा गर्नुपर्छ दैनिक रुपमा । किनकी, यो संवेदनशील उद्योग पनि हो । सुरक्षा मापदण्ड लगानी लगायत अन्य मापदण्ड पालनाको हिसाबले त्यति सजिलो नभएकाले नै यो उद्योग सुरक्षित र आकर्षित भएको हो ।
अन्तर्राष्ट्रिय हवाई सेवा र कुटनीतिक सम्बन्ध एक आपसमा कतिको जोडिएका हुन्छन् । कुटनीतिक सम्बन्ध राम्रो नभएसम्म हवाई सेवा विस्तार हुनै सक्दैन । दुईवटा देशमा सिधा उडान हुनु भनेको सम्बन्ध राम्रो भएको संकेत हो । त्यसकारण अन्तर्राष्ट्रिय हवाई सेवा र कुटनीति उडानका कारक नै हुन ।