नेप्सेमा एकैदिन ५५.७६ अंकको उछाल, पुनर्बीमा कम्पनी एक्लैको करिब डेढ अर्बको कारोबार

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
शेयर बजारमा बुधबार एकैदिन ५५.७६ अंकको उच्च सुधार आएको छ । सोमबार ४५ र मंगलबारको ११ अंकको उच्च गिरावटपछि बुधबार एकैदिन दुई दिनको घटे बराबरको बजार बाउन्स ब्याक भएको हो । यसदिनको बजारमा नेपाल पुनर्बिमा कम्पनी एक्लैको करिब डेढ अर्बको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से २.०१ प्रतिशत अर्थात ५५.७६ अंकले बढेर २ हजार ८२७ दशमलव १२ अंकमा पुगेको छ । आज कूल २१९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर १ लाख १४ हजार २१६ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रूपैयाँ पुगेको हो ।

सोमबार र मंगलबार नेप्सेसँगै कारोबार रकम क्रमश: ३ र ४ अर्बले घटेपनि बुधबार पुन: मंगलबारको तुलनामा २ अर्ब ७६ करोडले कारोबार रकम बढेको हो ।

बुधबार फेरि शेयर बजारमा वित्त र विकास बैंकतर्फ लगानीकर्ता फर्किएका छन् । कारोबार भएका कूल १३ समूहमध्ये म्युचुअल फण्डको सूचक बाहेक सबै सूचक सकारात्मक भएको छ । वित्तको सूचक ६.१३ प्रतिशतले बढेको यस दिनको बजारमा विकास बैंकको सूचक ६.१३ प्रतिशत, अन्य ५.२४, निर्जीवन बीमा ३.३४ प्रतिशत, होटल तथा टुरिजम्, जलविद्युत, उत्पादन, र जीवन बीमाको सूचक २ प्रतिशत धेरैले बढेको छ ।

एक दर्जन बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बुधबार १४ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।

यसदिनको बजारमा सानिमा माइ हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, नेपाल पुनर्बिमा कम्पनी, युनियन हाइड्रोपावर र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यसैगरी गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, बेष्ट फाइनान्स, गोर्खाज फाइनान्स, मेरो माइक्रोफाइनान्स र समांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ८ प्रतिशत धेरैले बढेको छ ।