बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० समयानुकुल हुन सकेनः सांसदहरु


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० समयानुकुल हुन नसकेको बताएका छन् ।

आईतबार प्रतिनिधि सभा बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले सो विधेयकको क्षेत्राधिकार साँघुरो भएको बताएका हुन् ।

उनले डिजिटल प्रणालीलाई विधेयकले समेट्न नसकेको बताए । उनले पुरानो कागजी प्रणालीलाई सम्बोधन गर्ने गरी मात्रै ल्याइएको बताए । उनले भने– ‘क्षेत्राधिकार साँघुरो भयो । फराकिलो हुनुपथ्र्यो । पुरानो युगको कागजी सिस्टमलाई मात्रै सम्बोधन गर्ने गरी ल्याइएको छ । एउटा अवसर गुम्यो कि भन्ने हाम्रो तर्क छ ।’

त्यस्तै, नेकपा(एमाले)की सांसद विद्या भट्टराईले क्रिप्टो करेन्सी र विट क्वाइनमार्फत भइरहेको ठगिको कुरालाई विधेयकले समेट्न नसकेको बताइन् । उनले नागरिकहरुमा वित्तीय साक्षरताको कमीले ठगी हुने गरेको भन्दै नागरिकहरुलाई वित्तीय साक्षरता दिनुपर्नेमा जोड दिइन्। उनले विद्यालय र विश्वविद्यालयको औपचारिक पाठ्यक्रममा नै वित्तीय साक्षरतालाई समेटेर शिक्षा दिनुपर्ने भनाइ राखिन् ।

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले डिजिटल भुक्तानीलाई विधेयकले समेट्नुपर्नेमा जोड र्दिए । उनले सहकारी क्षेत्र लगायतका सम्पूर्ण वित्तिय क्षेत्रलाई नै यस विधेयकले समेट्नुपर्ने बताए । उनले भने ‘डिजिटल भुक्तानी पेपर भुक्तानी भन्दा बढी मात्रामा भइराखेको हुँदा यसलाई समेट्न अत्यावश्यक छ । यसलाई समेटेर लानुपर्छ । सहकारी क्षेत्रमा देखिएको समस्या छ । बैकिङ समस्या र चेक अनादरको समस्या त्यहाँभित्र पनि पर्छ । यसलाई सहकारी क्षेत्रलाई समेट्नुपर्छ र यसले समग्र वित्तिय क्षेत्रलाई नै समेट्नुपर्छ भन्ने मेरो आग्रह हो ।’

छलफलमा भाग लिने अधिकांश सांसदहरुले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।