बैंकिङ्ग कसुर मुद्दाका ४ फरार प्रतिवादी पक्राउ, ११ लाख ७१ हजार जरिवाना असुल


काठमाडौं – बैंकिङ्ग कसुर तथा चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा तीन जना पुरुष र एक जना महिला रहेका छन्। उनीहरूमध्ये तीन जना बैंकिङ्ग कसुर र एक जना चेक अनादर कसुरमा अदालतबाट दोषी ठहर भएका थिए। प्रहरीका अनुसार पक्राउ परेका चारै जनाबाट कुल ४ वर्ष कैद सजाय तथा ११ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो।

उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही तथा कैद र जरिवाना असुल उपरका लागि  कास्की जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।