काठमाडाैं – सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुरुप कर छुटका कारण चालु आर्थिक वार्षको अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका राजश्व सचिव,भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकले यस्तो बताएका हुन् । उनीहरुले सरकारले चालु आ.व.मा राजश्व संकलनमा लिएको लक्ष्यअनुसार नउठ्ने अवस्था देखिएको बताए ।
उनीहरुले मुलुकको आर्थिक गतिविधि सुस्तता, वैदेशिक व्यापारमा कमी र विद्युतीय सवारी साधनको आयातमा वृद्धि भएको कारण राजश्व संकलनमा कमी देखिएको बताए । उनीहरुले माघ मसान्तसम्म ५ हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको भन्दै यही सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व संकलन हुने अवस्था रहेको बताए ।
बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेको स्पष्ट पारे ।
महानिर्देशक पौडेलले आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी आएको उल्लेख गरे । उनले मुलुकको वैदेशिक व्यापारतर्फ आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेकाले पनि राजश्व संकलन कमी आएको बताए ।
महानिर्देशक पौडेलले माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको बताए । उनले विद्युतीय सवारी साधनको ठाउँमा ५ हजार बढी सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त हुने अवस्था रहेको बताए ।
महानिर्देशक पौडेलले चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने देखिएकाले त्यसबाट चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात वृद्धि हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको बताए । उनले एलपी ग्यास र पेट्रोलिय पदार्थ लगायत अन्य केही वस्तुहरुको आयातमा कमी देखिएकाले चालु आ.व.को अन्त्यसम्ममा १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिएको बताए ।
महानिर्देशक पौडेलले सरकारले विद्युतीय सवारी,पेट्रोलियम पदार्थ,तेल विभिन्न पार्टसहरुबाट१ खर्बको राजश्व गुमाउने देखिएको बताए । उनले अहिले ६५ प्रतिशत राजश्व संकलन भएको अवस्था रहेको बताए ।
अर्थ मन्त्रालयका राजश्व सचिव डा।रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आन्तरिक राजश्व संकलन १०.०३ प्रतिशतले वृद्धि रहेको बताए । उनले भन्सार विभाग तर्फ ९.९१ प्रतिशत,गैर कर तर्फ १२.६९ प्रतिशत गरी जम्मा १०.२४ प्रतिशत रहेको बताए । (एजेन्सी)
प्रतिक्रिया