काँग्रेस महाधिवेशन प्रतिनिधिमा त्रि–चन्द्र क्याम्पस स्ववियु सचिव गिरीको उम्मेदवारी


काठमाडौं – नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको खुला युवा समूहबाट त्रि–चन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव आशिष गिरीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गरेका छन्। आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनका लागि गिरीले युवाको नेतृत्व र प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएका हुन्।

बाजुरादेखि काठमाडौंसम्मको अध्ययन यात्रा तय गर्दै विद्यार्थी राजनीतिमा सक्रिय गिरीले विभिन्न चुनौती र संघर्षका बीच आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन्। निरन्तरको सक्रियता र जिम्मेवारी निर्वाह गर्दै उनी हाल त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिवको जिम्मेवारीमा छन्।

देश परिवर्तनको महत्वपूर्ण चरणमा अघि बढिरहेका बेला राजनीतिमा युवाको सहभागिता र नेतृत्व आवश्यक रहेको गिरीले बताएका छन्। विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टीको संगठनमा उपयोग गर्दै बाजुराका युवाका आवश्यकता र आवाजलाई नेतृत्व तहसम्म पुर्‍याउने उनको भनाइ छ।

आफ्नो राजनीतिक यात्रामा बाजुराका अग्रज नेता, क्षेत्रीय प्रतिनिधि, वडा सभापति, साथीभाइ तथा शुभेच्छुकबाट प्राप्त माया, विश्वास र सहयोगले आफूलाई अघि बढ्न प्रेरित गरेको गिरीले बताएका छन्। आगामी दिनमा पनि सोही विश्वासलाई कायम राख्दै बाजुराको हित र युवाका मुद्दामा काम गर्ने गिरीले प्रतिबद्धता जनाएका छन्।