कोरोना भाइरसले विश्व तेलबजार ध्वस्त, मूल्यमा २१% को पहिरो

कोरोना भाइरसले विश्व तेलबजार ध्वस्त, मूल्यमा २१% को पहिरो


विश्वकै ठूलो कच्चा तेलको आयातकर्ता चीनको अर्थव्यवस्था कोरोना भाइरसका कारण थिलथिलो बन्न थालेपछि यसले विश्वको कच्चा तेल बजारमा समेत झट्का दिएको छ । कोरोना भाइरसका कारण चीनको कच्चा तेल मागको अवस्थालाई ध्वस्त बनाइदिने त्राससँगै मूल्यमा समेत भारी गिरावट आउन थालेको सिएनएनले जनाएको छ । 

चीनमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा उत्पादित कच्चा तेलको मूल्यमा सोमबार एकैदिन २.८ प्रतिशतले गिरावट आएको छ ।

जनवरी २०१९ देखि हालसम्मको अवधिमा कच्चा तेलको मूल्य सबैभन्दा कम अर्थात प्रति ब्यारेल ५० डलर मुनि ओर्लिएको रिपोर्टमा उल्लेख गरिएको छ । 

गत जनवरी ६ मा प्रति ब्यारेल ६३.२७ डलर रहेको कच्चा तेलको मूल्यमा २१ प्रतिशतको पहिरो गई ५० डलर मुनि झरेको बताइएको छ। 

विश्वको उर्जा बजार कोरोना भाइरसका कारण तहसनहस भएको छ । कोरोना भाइरसका कारण हालसम्म ३६० जनाले ज्यान गुमाइसकेका छन् भने विश्वभर १७ हजार जना प्रभावित छन् । भाइरसका कारण चीनमा जाने र त्यहाँबाट विभिन्न देश उड्ने उडानहरु स्थगित भएका छन् । यसको प्रभावले समग्र चीनको अर्थव्यवस्था नै लरबराउन थालेको दाबी गरिएको छ । 

केही अघिसम्म कायम चीन अमेरिकाबीचको व्यापार तनावका कारण तेलको मूल्यमा सामान्य उतारचढाव भए पनि छोटो समयमै यति भीषण पहिरो भने गएको थिएन । 

मिडिया रिपोर्टका अनुसार कोरोना भाइरसकै त्रासका कारण विश्व बजारमा कच्चा तेलको माग समेत ह्वात्तै घटेको छ ।

प्रतिदिनको मागमा करिब २.६ मिलियन ब्यारेलले मागमा कमी आएको छ । विश्लेषकहरुले फेब्रुअरी अन्तसम्ममा कच्चा तेलको मागमा दैनिक ९ मिलियन ब्यारेलसम्मले कमी आउनसक्ने अनुमान गरेका छन् ।

यो पटकको कच्चा तेलको मूल्य तल आउने कारण पर्याप्त आपूर्ति भन्दा पनि मागमा आएको नाटकीय कमीले रहेको समाचारमा बताइएको छ।