लैलैमा बैंकर

लैलैमा बैंकर


सानो हुँदा सबैको सपना हुन्छ, ठूलो भएपछि डक्टर बन्छु, पाइलट बन्छु, गायककार बन्छु, डान्सर बन्छु अथवा विजनेस गर्छु । तर वर्ष फेरिएसँगै, उमेर बढेसँगै बाल्यकालमा सोचेका सपना अक्सर फेरिन्छन । सबैकुरा सोचेजस्तो कहाँ हुन्छ र । एउटा समय त यस्तो पनि आउँछ कि, आफूलाई मन नपर्ने कुरा पनि अरुको लैलैमा लागेर मन पर्न थाल्छ । या भनौ साथीले जे गर्यो, त्यही गर्न मन लाग्छ । जीवनको दौडमा यस्तै कुरा साथी अत्यन्तै महत्वपूर्ण भइदिन्छ । माछापुच्छ्रे बैंक लिको सोह्रखुट्टे शाखा हाँकिरहेकी शाखा प्रवन्धक अमृता स्वाँरको जीवनमा पनि यस्तै भयो । नेपालगन्जकी अमृता स्वाँर बस्नेत कक्षा १० सम्म इन्जिनियर बन्छु भन्दै सपना बोकिन । कक्षा ११ मा पुगेपछि विज्ञान संकायतर्फ नगई व्यवस्थापनतर्फ लागिन ।

उनी साथिहरुको संगत भनौं या साथिहरुको लैलैमा लाग्दा व्यवस्थापनतर्फ भर्ना भइन । यस्तै साथीहरुको लहडको कुरा सुनाउँदै उनले भनिन, ‘इन्जिनियर नै बन्छु सोच्थे । परिवारको साथ पनि थियो । तर साथीहरु सबै म्यानेजमेन्टतिर गए । उनीहरुलाई देखेर एक्लै के विज्ञान पढ्नु लाग्यो । अनि त्यसमै भर्ना भएँ ।’ साथिका कारणले आफ्नो सपनामै बिट मारेकी अमृतालाई आज कताकता आत्मग्लानी भएको महसुस हुन्छ । उनी भन्छिन, ‘सुरुमा नराम्रो लाग्यो । विज्ञान संकाय नै पढेको भए राम्रै हुन्थ्यो । तर विस्तारै यता तिर नै ध्यान लगाएँ’, उनी भन्छिन् । जे गरे पनि पूर्ण निष्ठाका साथ गर्न रुचाउने उनी व्यवस्थापनतर्फ लागेपछि त्यसमै दिगो भइन् । स्नातकसम्मको अध्ययन नेपालगन्जमै सकेर वाणिज्य शास्त्र (एबिएस) मा स्नातकोत्तर गर्न काठमाडौं पसेकी उनको बैंकिङ्ग करियर डेढ दशक लामो छ ।

अमृता अहिले माछापुच्छ्रे बैंकको सोह्रखुट्टेस्थित खुसीबु शाखाको प्रबन्धक (ब्रान्च म्यानेजर) रुपमा काम गर्छिन । बैंकिङ्ग समाचारसँग कुरा गर्दै अमृता आफ्नो बैंकिङ्ग करियरबारे भन्छिन्, ‘२०६२ सालतिर बैंकमा लागेँ । संकटकालको बेला देशको माहोल खलबलिएको भएपनि बैंकिङ्ग क्षेत्र भने सुरक्षित नै मानिन्थ्यो । पढ्दै काम गरौँ सोचेर सांग्रिला बैंकबाट काम शुरु गरे ।’

त्यसवखतको कुरा सम्झिँदै उनले भनिन्, ‘रेसेप्सनमा ६ महिना काम गरे । दर्ता चलानी, खाता खोल्ने, स्टेटमेन्ट दिने जस्ता कामले ग्राहकहरुसँग दोहोरो संवाद हुन्थ्यो । ग्राहकहरुबाट पनि धेरै कुरा सिक्न पाइन्थ्यो । यसले पनि बैंकिङ्ग क्षेत्रमा टिकिराख्न मद्दत गर्यो ।’ कुनै काममा सफल हुन त्यसको शुरुवाती चरणदेखि अन्तिमसम्मका चुनौतीलाई भोग्दै र तीनै चुनौतीलाई चिर्दै अघि बढे पाएको सफलताबाट आत्मसन्तुष्टिसँगै आत्मसम्मान पनि बढ्ने अमृताको बुझाई छ । रेसेप्सनको ६ महिनाको अनुभवपछि उनी कर्जा विभागतर्फ लागिन् । कर्जा विभागको जिम्मेवारी बहन गर्दैगर्दा अमृतालाई छोरीको जिम्मेवारी पनि थपियो । ‘लोन डिपार्टमेन्टमा काम गर्दै थिए, छोरी भई अनि काम छोडियो पाँच महिना जति’, उनले भनिन् । बैंकिङ्ग क्षेत्रमा जोडिएको पाँच महिनापछि उनले सांग्रिला बैंक छाडिन । त्यसपछि उनी माछापुच्छ्रे बैंकमा जोडिएर काम थालिन ।

माछापुच्छे«को कुमारीपाटी शाखामा पुनः कर्जा विभागबाटै काम थालेकी उनी सोह्र वर्ष सोही विभागमा आवद्ध रहिन् । चाबहिल, नक्साल, लाजिम्पाट र सोह्रखुट्टे गरी चार शाखामा रहेर काम गरेकी उनले थरीथरीका कर्मचारी र ग्राहकहरु भेटिन । ‘डेढ दशक जति लोनकै सेक्टरमा काम गरे । काम गर्दा धेरै ठाउँको शाखाहरुमा पुगेँ । ठाउँअनुुसार स्टाफ फरक हुँदा घुलमिल गर्न गाह्रो पथ्र्यो । तर नआत्तिइकन काम गरेँ अनि लाजिम्पाटबाटै म्यानेजर भएर सोह्रखुट्टे गएँ’, उनले भनिन् । बैंकको काम अलि कडा काम भएको पनि उनको बुझाई छ । भन्छिन्, ‘सबै ठाउँमा सिसि क्यामेरा लागिराको हुन्छ । जे गर्दा नि सोच विचार गरेर गर्नुपर्ने । अझै अरुको अन्डरमा काम गर्दा दरो मुटु पनि चाहिने । हिम्मतले नै गर्दा यो क्षेत्रमा साढे सत्र वर्ष पनि पुग्यो ।’

अमृतालाई ब्रान्च म्यानेजर भएको जम्मा एक वर्ष मात्र भएको छ । यो क्षेत्रको लामो अनुभवले उनलाई नेतृत्व गर्न भने त्यति असहज भएको छैन । उनी भन्छिन, ‘लामो समय अरुको अन्डरमा काम गरियो । त्यति बेला आफूले नजानेको कुरा आफूभन्दा ठूलो मान्छेसँग सिकाई माग्न पनि हुने । गल्ती गर्दा गाली खाएपनि पछि सिकिन्थ्यो । शाखा प्रवन्धक भएपछि एउटा शाखाको सबै काम हेनुपर्दा नसकिने हो कि भन्ने चिन्ता हुन्थ्यो । तर भनिन्छ नि परेपछि जस्तो नि बेहोरिन्छ त्यस्तै हो । अब त बानी परँे’, अमृता आफ्नो कामप्रति विस्वश्त देखिइन् ।

बैंकिङ्ग क्षेत्र एउटा भिन्नै प्लाटर्म भएको पनि उनको भनाइ छ । भन्छिन्, ‘ग्राहकहरु विभिन्न थरिका आउँछन् । सबैलाई ह्यान्डिल गर्न सक्नुप¥यो । सबैको चित्त बुझाउन सक्नुपर्यो। अझै लोनको पार्टमा काम गर्दा कुन मनसायले ऋण लिँदै छ भन्ने पनि बुझ्नुपर्छ । यो क्षेत्रमा पैसाको कारोबार जानेकाले होइन, मनोविज्ञान जान्ने मान्छेले अझै उत्कृष्ट काम गर्न सक्छ ।’ उनी भन्छिन, ‘बजारमा बैंकहरुबीच प्रतिष्पर्धा बढिरहेको छ । यस्तोमा आफ्नो बैकलाई कसरी भरपर्दो बनाउने या कसरी गुणस्तर सेवा–सुविधा प्रदान गर्ने भनेर नयाँ–नयाँ योजना निकाल्नुपर्ने हुन्छ । त्यसैले यो क्षेत्रमा काम गर्दा क्रेटिभ माइन्ड पनि चाहिन्छ । इन्जिनियर बनेको भए अझै राम्रो हुन्थ्यो होला त लाग्छ तर बैंकर बनेर खुशी नै छु ।’