नियम विपरीत काम गर्ने ६ वटा वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा


काठमाडौं- नेपाल राष्ट्र बैंकले नियम विपरीत कामगर्ने छ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ। राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, गरिमा विकास बैंक, रिलायन्स फाइनान्सलाई कारवाही गरेको हो । राष्ट्र बैंकको कारवाहीमा पर्ने मध्ये मुक्तिनाथ विकास बैंकलाई नगद १० लाख जरिवाना तथा अन्य पाँचलाई नसियत तथा सचेत गराएको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट जारी भएको बिवरणमा राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं.१५/०७९ को बुँदा नं. ३९८० को व्यवस्था विपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा सोही अनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको भन्दै ग्लोबल आइएमई बैंकलाई नसियत दिएको छ ।

यस्तै गरी प्रभु बैंकलाई कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको भन्दै , सोही एकीकृत निर्देशनको निर्देशन नं. १५/०७९ को ३९८० को व्यवस्था विपरीत प्रिमियम दर वृद्दि गरी व्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापीटल एड्युकेसी फ्रमेवर्क २०१ को व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

हिमालयन बैंकलाई बैंकको पूँजी पर्याप्तता अनुपात गणना गर्दा यस बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपातवास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको लगायतका नियम बिपरीत कमाम गरेको भन्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ,।

मुक्तिनाथ विकास बैकलाई एकीकृत निर्देशन नं. १९/२०८० को बुँदा नं.५९१० बमोजिम वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा सोही निर्देशनको बुँदा नं. १४९१० बमोजिम निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरेकाले एकीकृत निर्देशन २०८० मा व्यवस्था भए अनुसार १० लाख नगद जरिवाना गरेको छ ।

गरिमा विकास बैंकलाई संयुक्त खातामा बिमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरुको अनुगमन नभएको देखिएकोले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएकोले संचालक सचेत गराईएको छ ।

रिलायन्स फाइनान्सलाई भने सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको, खाताको नियमित रुपमा अद्यावधिक समेत नभएकोलेसंस्थाको संस्थागत र सञ्चालककोआचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले सञ्चालक कुशप्रसाद मल्लीलाई नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको छ ।