‘भन्सारबाट हुने अवैध कारोबार रोक्न सरकारले ध्यान दिनुपर्छ’


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजश्व गुमाइरहेको दाबी गरेका छन्। शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले अवैध कारोबारको कारण राजश्व गुमेको भन्दै भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा सरकारले ध्यान दिनुपर्ने औल्याएका हुन् ।

उनले भारतबाट मालवाह सवारीहरु खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे । उनले नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने ‘भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजश्व गुमाइरहेको छ । सरकारले यसमा ध्यान दिन आवश्यक छ । भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरुलाई र्फिता जान ७२ घण्टाको समय दिएको हुन्छ । तर त्यस्ता सवारी साधनहरु सामान लिएर जादाँ ४८ घण्टाको मात्रै समय पाउँछन्। त्यो भन्दा बढी समय नेपालमा रहनुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको छ । भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन २५ सयका दरले भन्सार शुल्क लगाउने गरेको छ ।’

यस्तो प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्ट लगायत निर्यात जन्य वस्तुहरु महँगो हुन गई प्रतिष्पर्धी क्षमता गुमाइरहेकाे उनले बताए । साथै उनले भारतबाट मालवाह सवारीहरु खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे ।

उनले थपे, ‘नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्न माग गर्दछु । आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु आयात भइरहेकोमा यस्ता वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउनुपर्छ भन्ने माग बजेटमा सम्बोधन भएको छ । यसमा अझै स्पष्ट हुनुपर्ने र आयात हुने वस्तुहरुको लेभलिङ लगाएकको व नलगाएको भन्सारबिन्दुमा हेर्नुपर्छ । नत्र बजेटमा समावेश गर्नुको उद्देश्य प्राप्त हुँदैन । भन्सार पास हुनअघि नै लेभलिङ लगाएको हुनुपर्छ । भारतबाट अवैध कारोबार हुनुमा १३ प्रतिशतको भ्याटको व्यवस्थाको कारण भएको हो । भारतमा ५ प्रतिशत र नेपालमा १३ प्रतिशत कर लाग्ने भएकाले मूल्यको अन्तरको कारण भारतबाट नेपालमा अवैध व्यापार भइरहेको छ ।’ (न्युज एजेन्सी नेपाल)