पछिल्लो ५ वर्षमा बैंकिङ्ग कसुरका मुद्दा ४ गुणाले बढे

पछिल्लो ५ वर्षमा बैंकिङ्ग कसुरका मुद्दा ४ गुणाले बढे

कुन आर्थिक वर्षमा कति ?


काठमाडौं–पछिल्ला पाँच आर्थिक वर्षमा बैंकिङ्ग कसुरका मुद्दा चार गुणाले बढेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्ममा १२ हजार १३५ उजुरी बैंकिङ्ग कसुरका परेका छन् । आर्थिक वर्ष ०७५/७६ मा यस प्रकारका उजुरीको संख्या ३ हजार १६७ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष ०७६/७७ मा बैंकिङ्ग कसुरका उजुरी ३ हजार ३०९ रहेका छन् । योसँगै ०७७/०७८ मा भने यस्ता उजुरीको संख्या घटेर २ हजार ३७३ पुगेका हुन् । आर्थिक वर्ष ०७८/०७९ मा पुनः वृद्धि भई ५ हजार ३८३ पुगेको प्रहरीको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।

यस प्रकारका कसुर देशको अर्थतन्त्रमा देखिएको संकटका कारण बढिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवंम प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालको भनाई छ । उनी भन्छन्, ‘पछिल्ला वर्षमा आर्थिक अपराध अर्थात बैंकिङ्ग कसुर बढेको छ । खासमा देशको अर्थतन्त्रमा देखिएको संकटले पनि बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा बढेका हुन । विश्व परिवेशमा भइरहेको आर्थिक मन्दीका कारण पनि यसमा प्रभाव परेको हुनसक्छ ।’

आर्थिक लेनदेनका विषयमा पनि मानिसहरु सकारात्मक नरहेकाले बैंकिङ्ग कसुर उकालो लागिरहेको उनको भनाई छ । ‘मान्छेहरु विभिन्न बाहाना बनाएर आर्थिक लेनदेन गर्छन् । तिनुपर्ने समयमा तिर्नै नखोज्ने पनि गर्छन । त्यसकारण यो विषयमा उजुरी दिनेहरु पनि बढिराछन्’, उनले भने । साथै मिटरब्याजमा ऋण निकाल्ने प्रचलनले पनि यस्ता मुद्दाको संख्या बढ्दो क्रममा देखिएको उनको भनाई छ । बैंकिङ्ग कसुरलाई नियन्त्रण गर्न सरकारले विविध आयोग गठन गरी जिल्ला–जिल्लामा सुनुवाईका लागि पठाएको प्रवक्ता ढकाल बताउँछन । योसँगै अनुसन्धान कार्यालयहरुले पनि यस्ता उजुरीमाथि गहन रुपमा अनुसन्धान गरेर दोषिलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको उनले बताए ।